अनुकुलन व्यापकता प्रबद्र्धन पुरस्कार परियोजना सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

२६ जेठ, नेपालगंज । बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग डिएफआइडीको सहयोगमा प्रदान गरिने अनुकुलन व्यापकता प्रबद्र्धन तथा कार्यान्वयन पुरस्कार परियोजना सम्बन्धी दुई दिने कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । यस किसिमको कार्यशाला गोष्ठी आई डि एस नेपाल र सि जेड नेपालका विशेषज्ञहरुले संचालन गरेका थिए । । नेपालमा सञ्चालित नौलो किसिमको जलवायु परिवर्तन अनुकुलन कार्यको कदर तथा सम्मान गर्ने उदेश्यसहित घोषणा गरिएको पुरस्कार कार्यक्रम सम्बन्धी अभिमुखिकरण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । नेपालगंजमा भएको यस किसिमको तेस्रो अभिमुखिकरण कार्यक्रममा राष्ट्रि«य योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, पुरस्कार परियोजनाका टोली नेता तथा सि जेड नेपालका कार्यकारी निर्देशक डा माधव कार्की, परियोजनाका प्रबन्धक डा सर्वराज खड्का, एकिकृत विकास समाज नेपालका कार्यकारी निर्देशक प्रकाश कोइराला, योजना तथा अनुगमन विज्ञ डा. लोकेन्द्र पौडेल, लैंगिक सशक्तिकरण तथा सामाजिक समावेशिता विज्ञ श्री प्रभा पोख्रेल लगायतका बिज्ञहरुले नेपालले वातावरण परिवर्तन अनुकुलनका क्षेत्रमा गरिरहेको काम र पुरस्कार कार्यक्रमका विभिन्न पक्षका बारेमा सहभागीहरुलाई चेतना अभिवृद्धि र आवस्यक शिक्षा तथा सीप विकास तालिम प्रदान गर्नु भएको थियो । यस अघि यस्तै अभिमुखिकरण कार्यक्रम काठमाडौँ र हेटौँडामा सम्पन्न भइसकेको छ । नेपालगंजमा भएको अभिमुखिकरण कार्यक्रममा मध्य र सुदुरपश्चिम विकास क्षेत्रमा वातवरण अनुकुलनको क्षेत्रमा काम गर्ने विभिन्न स्थानीय १३ वटा संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Source: https://www.aajakonews.com