अनुकुलन व्यापकता प्रबर्द्धन पुरस्कार कार्यक्रम सम्बन्धी अभिमुखीकरण हेटौँडामा सम्पन्न

१६ जेठ, मकवानपुर । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडीको सहयोगमा प्रदान गरिने अनुकुलन व्यापकता प्रबर्द्धन पुरस्कार कार्यक्रम सम्बन्धी दुई दिने कार्यशाला हेटौँडामा सम्पन्न भएको छ । नेपालमा सञ्चालित नौलो किसिमको जलवायु परिवर्तन अनुकूलन कार्यको कदर तथा सम्मान गर्ने उदेश्यसहित घोषणा गरिएको पुरस्कार कार्यक्रम सम्बन्धी अभिमुखिकरण गर्ने हेतुले यो कार्यक्रम अयोजना गरिएको हो । दुईदिने अभिमुखि कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले नेपालले जलवायु परिवर्तन अनुकुलन सम्बन्धी धेरै काम गर्न बाँकि रहेको बताएका छन । घोषणा गरिएको पुरस्कार कस्ले पाउछ भन्ने कुरा त्यती महत्वपूर्ण नभएको बताउदै हामीसँग भएका स्थानीयस्तरमा काम गरेको ज्ञान कसरी राष्ट्रियस्तरका नीतिमा समावेश गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण भएको डा देवकोटाको भनाइ थियो । अभिमुखिकरण कार्यक्रममा पुरस्कार कार्यक्रमका समुह नेता डा माधव कार्कीले यो कार्यक्रमले नयाँ र सिर्जनात्मक किसिमका कार्यहरुलाई प्रथामिकता दिने जानकारी गराउँदै प्रत्यक संस्थाहरुसँग आ–आफ्ना सिर्जनात्मक क्षमता रहेको बताए ।

यस्तै सोहि कार्यक्रममा क्षेत्रीय वन निर्देशनालयका कार्यवाहक प्रमुख युवराज मास्केले सामुदायिकस्तरामा धेरै काम भएको बताउदै तयार भएको संरचनालाई कार्यन्वयनमा लैजानु अवको चुनौति रहेको बताए । घोषित पुरस्कारले समुदायस्तरमा काम गर्न थप प्रोत्साहन मिल्ने उनको भनाइ थियो । पुरस्कार कार्यक्रमका प्रबन्धक डा सर्वराज खड्काले अनुकुलनता हाम्रो देशका लागि महत्वपूर्ण रहेको बताउँदै समुदायस्तरमा रहेको ज्ञान सिप सोहि सिपलाई कसरी अभिबृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्तै वनविज्ञान अध्ययन क्याम्पस हेटौँडाका प्रमुख कृष्ण दाहालले स्थानीयस्तरमा अनुकुलनताका बारेमा स्पस्ट पर्न सके यसले केन्द्रीयस्तरमा कार्यक्रम कार्यन्वयनमा सहयोग पुग्ने बताए । उनले विश्वविद्यालयका विधार्थी माझ यस्ता जानकारी पुगे आगामी दिनमा कार्यक्रम सञ्चालन गर्न थप सहयोग पुग्ने बताए । एकीकृत विकास समाज नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाले सहजिकरण गरेको कार्यक्रममा विभिन्न क्षेत्रका १९ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Source: https://www.aajakonews.com/