जलवायु परिवर्तन अनुकुलन पुरस्कार कार्यक्रम सम्बन्धी दुईदिने कार्यशाला

काठमाडौं, १४ जेठ । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडीको सहयोगमा प्रदान गरिने अनुकुलन व्यापकता प्रबद्र्धन पुरस्कार कार्यक्रम सम्बन्धी दुई दिने कार्यशाला राजधानीमा सम्पन्न भएको छ । नेपालमा सञ्चालित सिर्जनात्मक किसिमको जलवायु परिवर्तन अनुकूलन कार्यको कदर तथा सम्मान गर्ने उद्देश्यसहित घोषणा गरिएको पुरस्कार कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी दिने हेतुले कार्यक्रमको आयोजना गरिएको थियो । बढ्दो जलवायु परिवर्तनको प्रभावका कारण गरिव, विपन्न र सीमान्तकृत समुदायलाई निरन्तर समस्या परिरहेको सन्दर्भमा जलवायु परिवर्तन कार्यक्रम सञ्चालन गरि अनुकुलनताका उपायलाई प्रबद्र्धन गर्न घोषणा गरिएको यो पुरस्कार कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारेमा जानकारी लिन यस क्षेत्रमा क्रियाशिल मध्यमाञ्चल विकास क्षेत्रका पहाडी जिल्लामा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यशालाको उद्घाटन सत्रका अध्यक्ष तथा जनसंख्या तथा वातावरण मन्त्रालयका सहसविच रामप्रसाद लम्सालले नेपालको सन्दर्भमा अनुकूलन र न्यूनीकरणको विषयलाई विकाससँग जोड्नुपर्ने बताए । उनले कार्यक्रमहरुलाई विकासका अन्य कार्यक्रमसँग जोडेर कसरी दिगो विकासका परिणाम निकाल्ने भन्ने बारेमा ध्यान दिन सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले नेपालमा जलवायु परिवर्तन सम्बन्धी नीतिको तुर्जमा पछि धेरै काम भएको बताउदै सो जलवायु परिवर्तन अनुकुलुनका सन्दर्भमा नेपालमा भइरहेको काम विश्व समुदायका लागि उदाहरण बन्न सक्ने बताए । अनुकुलन सम्बन्धी काम गर्ने देशभरका संघ संस्थाबिच राष्ट्रिय स्तरको नेटवर्क बन्नुपर्नेमा डा देवकोटाको जोड दिए ।

कार्यशालामा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सो परियोजना सुरु हुनुका कारणबारे प्रष्ट पार्दै डिएफआडीले नेपालमा अनुकूलनताका बारेमा कार्यक्रमहरु बनाउने गरि यो परियोजना आरम्भ गरेको बताए । नेपालका सिकाईहरु विश्वका अन्य देशहरुले पनि सिक्न खोजीरहेको शर्माको भनाइरहेको थियो । परियोजनाका सल्लाहकार मदन कोइरालाले तल्लो स्तरका जनतामा पनि अनुकुलनताका बारेमा व्यापक ज्ञान भएको भएपनि दस्तावेजीकारणकोे अभावमा कारण उनीहरुको प्रचार प्रसार नदेखिएको बताए । परियोजनाका अर्का सल्लाहकार कन्चन लामाले अनुगमन मापदण्डका आधारमा यो पुरस्कार छनौट गरिने बताउदै लैङ्गिक समानताका बिषयमा परियोजना केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

यस्तै सामुदायिक बन उपभोक्ता महासंघका भोला खतिवडाले अनुकूलतामा सामुदायिक बनहरुको व्यापक सहभागिता रहेको बताउदै उनीहरुले गरेका कामको एथेष्ट पहिचान हुन नसकेको बताए । उनले परियोजना सामुदायिक स्तरमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

यस्तै परियोजनाका टिम लिडर डा माधव कार्कीले पुरस्कार कार्यक्रमका बारेमा सम्पूर्ण जानकारी गराउनुका साथै प्रतिस्पर्धामा सहभागी हुने प्रक्रियाका बारेमा अवगत गराए । उनले जलवायु परिवर्तन अनुकूलनता सम्बन्धी नेपालमा भइरहेको काम बारे अन्तर्राष्ट्रिय समुदायको सकारात्मक धारणा बारे पनि सहभागीहरुलाई जानकारी गराए । कार्यशालामा परियोजनाका कार्यक्रम प्रबन्धक डा सर्वराज खड्काले २ दिने कार्यशाालमा हुने कार्यको सविस्तार जानकारी गराएका थिए ।

नेपालमा जलवायु परिवर्तन सम्बन्धी वास्तविक र सम्भावित जोखिमहरुको सम्बोधन गर्ने गरि सामुदायिक नेतृत्वमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउनुका साथै ती कार्यक्रमको कार्यन्वनयबाट जोखिममा रहेका समुदायको अनुकूलन क्षमतामा परिवर्तन पनि ल्याइरहेका छन । यसरी सञ्चालनमा रहेका कार्यक्रमहरु बारे जनचेतना बढाई व्यापक मात्रामा सहभागिता बृद्धि गरि जलवायु परिवर्तनका दुष्प्रभावलाई सम्बोधन गरि समुदायलाई लाभ दिन सकिने बिश्वास लिइएको छ । सोहि अभियानहरुलाई हौसला प्रदान गर्नेहेतुले यो पुरस्कार कार्यक्रमको घोषणा गरिएको हो ।

यो पुरस्कार मार्फत अनुकूलन व्यापकता प्रवद्र्धन तथा प्रसार गर्ने कार्यक्रमले समुदायको नेतृत्व तथा सिर्जनशिल सोचयुक्त योजना बनाउने क्षमताबाट सफलता पूर्वक सञ्चालित जलवायु अनुकूलन कार्यक्रमहरुको पहँुचलाई बृद्धि र विस्तार गर्न नयाँ तथा सिर्जनात्मक माध्यमहरुको पहिचान र सम्मान गर्ने उद्देश्य राखिएको छ । पुरस्कार प्राप्त गर्ने संघसंस्थाहरुले ३ लाख २५ हजार बेलायती पाउण्ड बराबरको एक हिस्सा पाउनुका साथै आफुले कार्यान्वयनमा गरिरहेका परियोजनालाई व्यापक स्तरमा कार्यन्वयन गर्ने अवसर प्राप्त गर्नेछन ।

एकीकृत विकास समाज नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाले सहजिकरण गरेको कार्यशालामा जलवायु परिवर्तन अनुकूलनताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Source: http://www.dainiknepal.com